अछाम : १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता चौरपाटी गाँउपालिकामा भाेलिबाट सुरु हुने भएको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्काद्वारा उद्घाटन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकाे गाँउपालिकाका अध्यक्ष भिम बहादुर साँउदले बताए ।
चौरपाटी गाँउपालिकाका ७ वटै वडाका स्थानीय कला तथा संस्कृती झल्किने झाँकीहरु प्रदर्शन गरिने तयारी छ । साथै प्रतियोगितामा कलाकार जनक साँउद (अछामी माग्ने बुढा) भीम बिष्ट (अछामी रेखा) टेक बहादुर बोगटीले समेत आफ्नो कला प्रस्तुत गर्ने छन् भने देउडा खेलका लागि कलाकार चित्रा शाहीलाई समेत आमन्त्रण गरिएको जिल्ला खेदकुद समिति अध्यक्ष केशर खड्काले बताए ।
प्रतियोगिताका लागि पूर्वाधार सहितको अन्य व्यावसस्थापनमा पालिकाले २४ लाख रुपयाँ बजेट बिनियोजित गरेको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले बताए । बाकी रकम जिल्ला खेलकुद समितिको गरेर कुल बजेट ३० लाख रहेको अधिकृत थापाले बताए ।
जिल्ला खेलकुद समिति अछामको आयोजनामा हुने १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा चौरपाटी गाँउपालिका सहआयोजक रहेको छ ।
प्रतियोगिताका लागि अछामका १० वटै पालिकाबाट बिभिन्न बिधाका गरि ७ सय खेलाडी सहित खेल प्रशिक्षक, व्यवस्थापक, पालिकाका जनप्रतिनिधी र कर्मचारी समेत प्रतियोगितामा सहभागि हुने कार्यालय प्रमुख हर्क साँउदले बताए ।
फागुन ७ देखि ११ गते सम्म सञ्चालन हुने खेलमा सहभागी खेलाडी लगायत अन्य महानुभावहरुका लागि खान बस्नको प्रबन्ध समेत पालिकाका बिभिन्न होटलमा व्यावस्थापन गरिएको छ भने आवासका लागि पालिकाले लुगा कपडा खरिद गरेर अस्थायी रुपमा चौरपाटीमा रहेका होटल सहित कार्यालयका कोठाहरु समेत प्रयोगमा ल्याईने आयोजकले जनाएको छ ।
यसपटक प्रतियोगितामा महिला पुरुष भलिबल, महिला पुरुष कबड्डी, कराते, एथ्लेटिक्स तर्फ हाईजंप, लम्जम्प, सटफुट, ज्याब्लिगं थ्रो, दौड तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर लगायतका खेल समाबेश रहेका छन् ।
यस अघि १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलसेन नगरपालिकामा आयोजना भएको थियो