ad

सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली डाेटीबाट बडीमालिका प्रस्थान

डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली शुक्रवार बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ ।

हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि जिल्ला प्रशासन कार्यालय डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो । पेटारो पैदलयात्रामा १५ दिन लगाएर बडिमालिका पुग्ने छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीबाट जिल्ला प्रशासन कार्यालय डोटीमा विशेष पूजाआजा सम्पन्न भएपश्चात प्रशिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा पुँजा भएसँगै पेटारो बडीमालीका लागि निस्केको हो ।

जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको थियाे । 

जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौट र दोस्रो दिन सोही पालिकाको वडा नम्बर ५ धानुकाँडामा बास बस्ने छ । यस्तै तेस्रो दिन अछामको मार्कु र प्रसिद्ध धार्मिक स्थल वैद्यनाथधाम हुँदै पैदल मार्गबाट बडीमालिका पुग्ने चलन छ ।

पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथ मन्दिर अछामकाे चामलका अक्षता समावेश गरिएको हुन्छ ।

पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो ।

ad

धेरै पढिएका