काठमाडौं —जेन–जि एलायन्स फर मोनार्की ले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठन गरिएको कार्की जाँचबुझ आयोग को पूर्ण प्रतिवेदन २४ घण्टाभित्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
बिहीबार जारी प्रेस विज्ञप्तिमा उक्त संगठनले आयोगका संयोजक गिरिशचन्द्र कार्की नेतृत्वको आयोगले आफ्नो प्रतिवेदन औपचारिक रूपमा प्रधानमन्त्री सुशीला कार्की लाई बुझाइसकेको उल्लेख गर्दै अब प्रतिवेदन सार्वजनिक गर्न कुनै बहाना वा ढिलाइ स्वीकार्य नहुने जनाएको छ।
विज्ञप्तिमा भदौ २३ र २४ गते भएका घटनामा कम्तीमा ६ जना निर्दोष नागरिकले ज्यान गुमाएको र दुई हजारभन्दा बढी व्यक्ति घाइते भएको उल्लेख गरिएको छ। साथै सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसद भवन लगायतका सार्वजनिक तथा निजी सम्पत्तिमा समेत आगजनी र क्षति पुगेको दाबी गरिएको छ।
संगठनले नेपालमा आयोग गठन गर्ने तर प्रतिवेदन दराजमै थन्क्याउने ‘दुःखद परम्परा’ रहेको उल्लेख गर्दै अब यस्तो अभ्यास अन्त्य हुनुपर्ने जनाएको छ। घटनाको सत्य तथ्य, दोषी र आयोगका सिफारिसबारे नेपाली जनतालाई जानकारी पाउने अधिकार रहेको पनि विज्ञप्तिमा भनिएको छ।
साथै हालै सम्पन्न आमनिर्वाचनपछि प्रतिवेदन सार्वजनिक नगर्न कुनै राजनीतिक बहाना नरहेको भन्दै सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेको स्मरण गराइएको छ।
जेन–जि एलायन्स फर मोनार्कीले २४ घण्टाभित्र प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक नगरे वा सम्पादन गरिएको अथवा अपूर्ण संस्करण ल्याउने प्रयास गरे देश थप अन्योल र अस्थिरतातर्फ धकेलिन सक्ने चेतावनी दिएको छ।
उक्त प्रेस विज्ञप्ति संगठनका प्रवक्ता सनातन रिजाल ले जारी गरेका हुन्।