४ जेठ, साँफेबगर — सामाजिक अभियान्ता मदन बुढा को विशेष सहयोगमा अछामस्थित बयालपाटा प्रादेशिक अस्पताल मा “रामारोशन पुस्तकालय” स्थापना गरिएको छ।
अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरुलाई अध्ययन तथा सकारात्मक सोचको वातावरण प्रदान गर्ने उद्देश्यले पुस्तकालयमा करिब ३०० बढी पुस्तक राखिएका छन् ।पछिल्लाे समय पठन संस्कृतिकाे विकास गर्न ईतिहास, साहित्य, स्वास्थ्य, तथा चेतनामूलक पुस्तकहरू समावेश गरिएकाले समयकाे सदुपयोग संगै ज्ञान हासिल गर्ने अवसर मिल्ने अभियान्ता बुढाले बताए । उहाँले पुस्तकालयको संरक्षण र निरन्तरतामा अस्पताल लगायत सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो।
त्यस्तै अस्पताल भनेको केवल इन्जेक्सन दिने, अपरेशन गर्ने वा औषधि उपचार गर्ने स्थान मात्र नभई मानिसलाई ज्ञान र चेतना दिने थलो समेत बन्नुपर्ने धारणा अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठकले व्यक्त गर्नुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले अस्पतालमा उपचारका क्रममा लामो समय बस्नुपर्ने सेवाग्राहीलाई समयको सदुपयोगसँगै मानसिक सान्त्वना र यश क्षेत्रकाे धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रचारप्रसार मा टेवा मिल्ने विश्वास व्यक्त गरे ।
साथै पुस्तकालयको संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै अब यसको जिम्मेवारी अस्पतालले सम्हाल्ने बताउनुभयो ।
साेमबार विहान ९ बजे गरिएकाे उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता लगायतको सहभागिता रहेकाे थियाे ।
सामाजिक अभियान्ताका रुपमा सक्रिय बुढाले याे भन्दा पहिले अछाम जिल्ला कारागार मा पनि २०० भन्दा बढी पुस्तक राखि पुस्तकालयकाे स्थापना गरेका थिए ।
उपचारसँगै ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको “रामारोशन पुस्तकालय” ले अब बयालपाटा अस्पताललाई स्वास्थ्य सेवामामात्र होइन, बौद्धिक चेतनाको केन्द्रका रूपमा समेत चिनाउने अपेक्षा गरिएको छ ।