भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा आज शुक्रबार देशभर कृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भक्तजनले कृष्ण मन्दिरमा पूजा–आराधना, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान गरी पर्व मनाउँदैछन्।
पुराणमा उल्लेख भएअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा वासुदेव र देवकीको कोखबाट कारागारमा भगवान् कृष्णको जन्म भएको मानिन्छ। उहाँलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा समेत पूजा गरिन्छ।
आध्यात्मिक गुरु लेखनाथ शास्त्रीका अनुसार कृष्ण बहुआयामिक व्यक्तित्व र उत्सवका प्रतीक हुनुहुन्छ। अन्धकारबीच कारागारमा भएको कृष्णको जन्मले बन्धन र कठिनाइबीच पनि साधना तथा जागरूकताबाट मुक्ति प्राप्त गर्न सकिने सन्देश दिने उहाँको भनाइ छ।
कृष्णले मानिसलाई कर्ममा केन्द्रित हुन, फलप्रतिको आसक्ति त्याग्न र आफ्नो कर्तव्य पालना गर्न प्रेरित गर्नुभएको धार्मिक मान्यता छ। उहाँका शिक्षामा ज्ञानयोग, कर्मयोग र भक्तियोगलाई विशेष महत्व दिइएको छ।
महाभारतको युद्धमा अर्जुनका सारथि बनेका कृष्णले दिएको उपदेशलाई श्रीमद्भगवद्गीताको मूल आधार मानिन्छ। काम, क्रोध र लोभ त्याग्दै आत्मज्ञान, कर्तव्य र सदाचारको बाटोमा अघि बढ्न कृष्णको जीवनदर्शनले प्रेरणा दिने विश्वास गरिन्छ।