अछाम । चौरपाटी गाउँपालिका–३ स्थित गगुडा माध्यमिक विद्यालयको ५१औँ अभिभावक भेला तथा सामाजिक लेखापरीक्षण कार्यक्रम बुधवार सम्पन्न भएको छ।
शिक्षक–अभिभावक सङ्घका अध्यक्ष जगत बहादुर आउजीको अध्यक्षतामा भएकाे कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउद प्रमुख अतिथि रहनुभएकाे थियाे ।
त्यस्तै विशिष्ट अतिथिमा वडा नं. ३ का वडा अध्यक्ष बिरेन्द्र कुमार साउद रहनु भएकाे थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष साउदले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफू निरन्तर लागिरहेको बताउँदै शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोग आजको आवश्यकता भएको बताउनुभयो।
वडाध्यक्ष साउदले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक र विद्यार्थीका साथै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यालयको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर साउद, वडा सदस्य राजु देवी साउद, पूर्व व्यवस्थापन समिति अध्यक्ष, पूर्व शिक्षक–अभिभावक सङ्घका अध्यक्ष तथा प्रधानाध्यापक कृष्ण बहादुर खड्का लगायतले विद्यालयको शैक्षिक सुधार र आगामी कार्यदिशाका विषयमा धारणा राख्नुभएको थियो ।
सामाजिक लेखापरीक्षणका क्रममा आर्थिक वर्ष २०८२/८३ को रु. १ करोड १४ लाख १६ हजार ९ रुपैयाँ ६२ पैसा बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो।
सामाजिक परीक्षण समितिका सदस्य–सचिव तथा शिक्षक लालबहादुर खड्काले उक्त विवरण प्रस्तुत गर्नुभएको थियाे ।
कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए । सोही अवसरमा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम गरिएको प्रधानाध्यापक कृष्णबहादुर खड्काले जानकारी दिनुभयो।