लक्ष्मिराज पाध्याय
बाजुरा १९ असाेज
बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–२ परिवन बस्ने ४२ वर्षीय धनबहादुर केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराकाअनुसार आइतबार दिउँसो करिब ४ बजेतिर घरबाट निस्किएका केसी साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा केसीलाई परिवनस्थित सामुदायिक वनभित्र गाडिएको राष्ट्रिय प्रशारण विद्युत् पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
घटनाको थप अनुसन्धान तथा घटनास्थल मुचुल्कालगायतका प्रक्रिया पूरा गर्नका लागि सोमबार बिहान जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको नेतृत्वमा सात जनाको टोली घटनास्थलतर्फ खटाइएको छ ।
यस्तै, उक्त घटनापछि आइतबार साँझदेखि जिल्लाभर राष्ट्रिय प्रशारण विद्युत् सेवा अवरुद्व रहेकाे छ ।