अछाम । साँफेबगर नगरपालिका–४ एयरपोर्ट बजारमा निर्माण गरिएको अस्थायी बसपार्क ७ वर्ष हुँदा पनि सञ्चालनमा आउन सकेकाे छैन ।
साँफेबगर नगरपालिकाले साफेबगर बिमानस्थल नजिकै रहेकाे निजी व्यक्तिको करिब ५ रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको वर्षौँ बितिसक्दा पनि उक्त स्थान बसपार्कका रूपमा प्रयोग हुन सकेको छैन ।
साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा बसपार्क निर्माण तथा व्यवस्थापनका लागि ३ वर्षमा करिब ५० लाख बढि रकम खर्च गरेकाे छ ।
नगरपालिकाले पाँच वर्षका लागि भनेर वार्षिक ६५ हजार भाडा तिर्ने गरि जग्गा भाडामा लिएको थियो ।
तर, लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको बसपार्क गाैचरण अवस्थामा छ । बसपार्क परिसरमा स्थानीय बालबालिका खेल्ने गरेको देखिन्छ भने कतिपय स्थान झाडी र फोहोरले भरिएका छन् ।
नगरपालिकाले जग्गा भाडा बापत मात्रै सात वर्षको अवधिमा करिब ४ लाख ५५ हजार रुपैयाँ खर्च गरिसकेको देखिन्छ । निर्माणमा भएको करिब ५० लाख र जग्गा भाडासमेत जोड्दा सार्वजनिक स्रोतबाट ठूलो रकम खर्च भएको छ । तर, त्यस अनुसार बसपार्कको प्रतिफल भने देखिन सकेको छैन । साे ठाउमा हालसम्म अलपत्र अवस्थाका रहेका दुई वटा शाैचालय देखिन्छन ।
बजारमा बढ्दो सवारी चाप, जथाभावी पार्किङको समस्या
बसपार्क सञ्चालनमा नआउँदा साँफेबगर बजारमा सवारी साधन पार्किङको समस्या बढ्दै गएको छ। विशेषगरी चाडपर्व नजिकिँदै जाँदा बजारमा मानिस तथा सवारी साधनको चाप बढ्ने भएकाले सडक तथा बजार क्षेत्रमा जथाभावी पार्किङ हुने गरेको स्थानीयको गुनासो छ ।
सडक छेउछाउ तथा बजार क्षेत्रमै सवारी साधन रोक्ने र पार्किङ गर्ने क्रम बढ्दा पैदल यात्रु तथा अन्य सवारी साधनलाई आवतजावतमा समस्या हुने गरेको छ। यसले दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयको भनाइ छ।
एकातिर बसपार्कका लागि छुट्टै जग्गा भाडामा लिएर संरचना निर्माण गरिएको छ भने अर्कोतर्फ सोही संरचना प्रयोगमा नआउँदा बजार क्षेत्रमा पार्किङ व्यवस्थापनको समस्या कायमै छ ।
बसपार्क निर्माणका लागि नगरपालिकाले ठूलो रकम खर्च गरे पनि अहिलेसम्म नियमित सञ्चालनमा आउन नसक्नुको कारणबारे स्पष्ट जवाफ आवश्यक देखिएको छ। जग्गा भाडाको अवधि, निर्माण भएका संरचनाको अवस्था, बसपार्क सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा नगरपालिकाको आगामी योजना सार्वजनिक रूपमा स्पष्ट हुनुपर्ने स्थानीयको माग छ ।
सार्वजनिक स्रोतबाट खर्च भएको रकमको प्रभावकारी उपयोग र निर्माण गरिएका संरचनाको संरक्षण तथा सञ्चालन स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी हो। लामो समयसम्म सञ्चालनमा नआउँदा निर्माणमा खर्च भएको रकमको उपयोगिता र सार्वजनिक लगानीको प्रभावकारितामाथि प्रश्न उठेको छ ।
अब नगरपालिकाले बसपार्कलाई कहिले र कसरी सञ्चालनमा ल्याउने, हालसम्म भएको खर्चको विवरण के हो, जग्गा भाडाको अवधि र आगामी व्यवस्थापन योजना के छ भन्ने विषयमा स्पष्ट जानकारी दिन आवश्यक देखिन्छ ।
डेढ दशक पहिले साँफे हाटबजारमा रहेको बसपार्क हटेपछि हालसम्म साँफेबगरमा बसपार्क बन्न सकेन । हाल साँफेबगर क्षेत्रमा नयाँ शर आयोजना कार्यालयले आधुनिक बसपार्क निर्माणको काम सुरु गरेको भएपनि कहिले सम्पन्न हुने भन्ने टुंगो छैन ।