ad

अछाममा सोलार लिफ्टिङ प्रविधिबाट बृहत खानेपानी योजना, घर-घरमा पानी पुग्दा स्थानीयको दैनिकी फेरियो

७ पुस २०८०
अछाममा सोलार (सौर्य ऊर्जा) लिफ्टिङ प्रविधिबाट खानेपानी योजनाहरु धमाधम निर्माण हुन थालेका छन् । अछामको साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र पन्चदेवल विनायक नगरपालिकामा पानीको जटील समस्या रहेका विभिन्न वडाहरुमा करिब ४ करोडको लागतमा लिफ्टिङ प्रविधिबाट सोलार मुस खानेपानी योजनाहरु निर्माण गरिएका हुन । 

सोलार मुस खानेपानी योजनामा रिन्युवल वल्ड, सप्रोस नेपाल र वाक नेपालको संयुक्त साँझेदारीमा संचालित यूरेका परियोजनाको प्राविधिक तथा आर्थिक सहयोग र सम्बन्धित पालिकाहरुको समेत आर्थिक सहयोग रहेको छ । 

पुस्तौँदेखिको खानेपानीको समस्या झेल्दै आएका बान्नीगढी जयगढ गाउँपालिका २, सल्लेनाका १०३ घरमा लामो समयपछि घरघरमा खानेपानी आउँदा स्थानीय हर्षित भएका छन् । पिउन, गाईबस्तुलाई खुवाउन तथा नुहाइधुवाइ गर्न विहानै पिठ्युमा पानीको भारी बोकी एक÷डेढ घण्टाको बाटोमा पानी बोक्नुपर्ने बाध्यता हटेको स्थानीय ललिता साउँदले बताईन् । 

स्थानीयवासी ललिता साउँदले भनिन्, “स्थानीय सरकार र दातृ निकायको संयुक्त पहलमा सोलार प्रविधिले पानी निकाली घरघरमा धारा दिदाँ हामीले दिनभर पानी बोक्नुपर्ने बाध्यता हट्यो, घरघरमै पानी आउँदा निकै हर्षित छौँ ।” उनले घरमा पुगेको पानीले पिउन, गाईबस्तुलाई प्रयोग गर्न र तरकारीखेती सिचाई गरी बाझो जमिनमा स्वच्छ तरकारी फलाउन सकिने बताइन् ।

त्यस्तै सोही परियोजना अन्र्तगत मध्यपहाडी राजमार्गले छोएको पञ्चदेवल विनायक नगरपालिका वडा नं.–४, टोट्केसालमा करिब १००० मिटरको उचाईमा सोलार लिफ्टिङबाट पानी ट्याङ्की निर्माण गरी ७५ घरमा खानेपानी धारा जडान गरिएका छन् । त्यस्तै बान्नीगढी जयगढ गाउँपालिका–४, तिमिल्सैमा १३७ धारा र साँफेबगर नगरपालिका वडा नं. ४ को जयाकोटमा ३५ धारा जडान गरिएका छन् । जडान गरिएका सम्पूर्ण धाराहरुमा मिटर सिस्टम जडान गरिएको छ । 

खानेपानी योजनालाई मर्मत–सम्भार, व्यवस्थित र दिर्घकालिन बनाउन सम्बन्धित वडाहरुमा खानेपानी उपभोक्ता समिति बनाई उपभोक्ताले प्रयोग गरेको पानीको यूनिटका आधारमा समितिमा पैसा तिर्नुपर्ने व्यवस्था गरिएको वान्नीगढी जयगढ गाउँपालिका वडा नं. २, का वडा अध्यक्ष खम्म बहादुर साउँदले बताए ।

दैनिक ४० हजार लिटर पानी तान्ने क्षमताको प्यानल जडान गरिएका सोलारको २० वर्षको वारेन्टी रहेको छ भने समरसेल मोटर पम्पमा ३ वर्षको वारेन्टी रहेको रिनेवल वर्डका बरिष्ठ टेक्निकल अधिकृत चन्द्रकान्त मरासिनीले बताए ।

ad

धेरै पढिएका