साँफेबगर नगरपालिका वडा नं ४ काे जनकल्याण माविमा विद्यार्थीहरुले ताला लगाएका छन् । प्राविधिक धारतर्फका विद्यार्थीहरुबाट विद्यालयले चर्काे शुल्क लिएकाे भन्दै ताला लगाएका हुन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले तोकेको शुल्क भन्दा बढी लिएको भन्दै सिभिल इन्जिनियरिङ र जियोमेट्रिक अध्ययनरत विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।
सीटीईभीटीले अधिकतम २ लाख ३० हजार रुपैयाँ शुल्क लिन पाउनेगरी तोकेको थियो । तर, विद्यालयले २ लाख ५१ हजार २०० रुपैयाँ लिँदै आएको छ । बढी शुल्क घटाउन माग गर्दा विद्यालयले आनाकानी गर्दै आएको भन्दै तालाबन्दी गरिएको अनेरास्ववियु अछाम जिल्ला कमिटी सह–सचिव मनोज रावलले जानकारी दिए ।
सिभिल इन्जिनियरिङ पाँचौँ सेमिस्टरमा अध्ययनरत विद्यार्थी समेत रहेका रावलले बढी शुल्कको विषयमा कुरा राख्दा विद्यालयले मतलब नै नगरेको बताएका छन् ।
विगत ६ महिना समय देखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेकाे छैन् । विद्यालयका प्रधानाध्यापक भीम बहादुर बुढाले विद्यालय व्यवस्थापन समितिले नै निर्णय नगरेको र नयाँ समिति आएपछि मात्रै शुल्कबारे निर्णय गरिने विद्यार्थी रावलले बताए ।
विद्यालले १ लाख ८० हजार रुपैयाँ शुल्क लिने गरेको छ । त्यसमा थप एक हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क, दुई हजार रुपैयाँ परीक्षा शुल्क, दुई हजार रुपैयाँ आन्तरिक परीक्षा शुल्क, त्यसमा थप प्रत्येक आन्तरिक परीक्षामा प्रत्येक विद्यार्थीबाट २०० रुपैयाँ थप शुल्क लिँदै आएको छ । त्यस्तै ल्याबको लागि १० हजार, सर्भे क्याम्पवापत ५ हजार रुपैयाँ, परिचय पत्रका लागि ३०० रुपैयाँ, किताबका लागि २६ हजार, शैक्षिक भ्रमणबापत १५ हजार रुपैयाँ शुल्क लिने गरेको रावलले बताए ।
व्यवस्थित ल्याब नभएको र ल्याबमा भएका केमिकलहरू समेत पुरै डेट एक्सपायर भएको र कम्प्युटर ल्याबमा प्राय कम्प्युटरहरु बिग्रेको, विद्यार्थीहरूले सिक्नुपर्ने अटोक्याड अहिलेसम्म नसिकेको उनको भनाई छ । त्यस्तै केमिस्ट्री र फिजिक्स ल्याब दुई पटक मात्र गर्नुपर्ने भएकाले ल्याब शुल्क प्रत्येक विद्यार्थीबाट १० हजार रुपैयाँ लिने गरेको उनको भनाइ छ ।
सर्भे क्याम्पका लागि ५ हजार रुपैयाँ बुझाईसकेपछि प्रत्येक विद्यार्थीहरूबाट अलग शुल्क भन्दै थप ५ हजार रुपैयाँ लिने गरेको उनको भनाइ छ ।
त्यसरी थप शुल्क उठाउने विषयमा प्रश्न गर्दा विद्यालयलाई सहयोग भएको भन्दै जवाफ दिने गरेको बताए । किताब खर्चको लागि २६ हजार रुपैयाँ किन भनेर प्रश्न गर्दा विद्यालयले किताब टाढाबाट मगाउनुपर्ने जवाफ दिने गरेको उनको भनाइ छ ।
शैक्षिक भ्रमणको नाममा समेत किन पैसा उठाउने गरेको भनेर प्रश्न गर्दा विद्यालयलाई सहयोग भएको भनेर जवाफ दिने गरेको उनले बताए ।
विद्यालयले शुल्क घटाउने विषयमा विद्यालय व्यवस्थापन समिति गठन भएपछि मात्रै निर्णय गर्न सकिने भन्दै पन्छिँदै आएको उनको भनाइ छ ।
पटक पटक विभिन्न विषयमा विवादित बन्दै अाएकाे विद्यालय राजनितीक अखडा बनेकाे छ । शैक्षिक संस्थामा पनपरि शिक्षक भर्ना गर्नु, राम्रो शिक्षक नटिकाउनु, हाम्राेलाई प्राथमिकतामा राख्ने विथितिले विद्यालयमा वर्षैपिच्छे विद्यार्थी भर्नादर घट्दै अाएकाे छ । विद्यालयमा कार्यरत केही शिक्षकहरुले दाेहाेराे पारिश्रमिक लिने गरेकाे गुनासाे पनि सुनिदै अाएकाे छ । याे विषयमा साफेबगर नगरपालिकाले पनि अाफ्नाे अागनमा भएकाे विद्यालयकाे रेखदेख र अनुगमनमा चासाे दिएकाे देखिदैन् ।