साँफेबगर नगरपालिका ४, मष्टामाण्डौका आर्थिक अवस्था न्यून भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
साँफेबगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा साँफेबगर नगरपालिका वडा नं. ४, का विभिन्न विद्यालयमा अध्ययनरत १५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री कापी, कलम, झोला वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानी बाबुहरुलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैले यस्ता रचनात्मक कार्यमा ध्यान दिए सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताए ।
सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर समुदायका अधिकांश बालबालिकाहरुलाई यो शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुग्ने कार्यक्रमका विशिष्ट अतिथि साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिब बहादुर कुँवरले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष अप्सरा कुवँरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले केहि वर्षदेखि बालबालिका, महिला र अन्य क्षेत्रमा रचनात्मक काम गरी सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवराज बुढा, शिक्षा शाखा प्रमुख हिरादत्त भट्ट, टोल विकास संस्थाका अध्यक्ष, पत्रकार लगायतको सहभागिता रहेको थियो ।