ad

सत्ता साझेदार दल कांग्रेसलाई उपनिर्वाचनमा धक्का

१७ मंसिर, काठमाडौं । 
सत्ता साझेदार नेपाली कांग्रेसले अघिल्लो पटक जितेका क्षेत्रहरू समेत जोगाउन सकेन ।

एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको कांग्रेसले पालिका पदाधिकारीतर्फ ५ स्थानको नतिजा आउँदा कतैपनि जित्न सकेको छैन । (कीर्तिपुर नगरपालिकाको मेयर, गौरीशंकर गाउँपालिका उपाध्यक्ष र सर्केगाडँ गाउँपालिका उपाध्यक्षमा मतगणना हुँदै)

जबकी उपचुनाव भएका ८ पालिका पदाधिकारी मध्ये ६ ठाउँमा यसअघि कांग्रेसले जितेको क्षेत्र हो । तर ०७९ मा कांग्रेसले जितेको मोरङको ग्रामथान र दैलेख महाबु गाउँपालिकाको अध्यक्ष कांग्रेसले बचाउन सकेन ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसबाटै माओवादी प्रवेश गरेका नमोनारायण माझीले जिते । माझीले ६९६९ मत ल्याएर अध्यक्ष जित्दा कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए । यो पालिकामा यसअघि कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७६०५ मत ल्याएर जितेका थिए । त्यसबेला निकटतम् प्रतिद्वन्द्वी थिए, एमालेका शिवनारायण माझी । एमालेका माझीले ६०९३ मत ल्याउँदा माओवादीका विजयकुमार सरदार २७२७ मतमा सीमित भएका थिए ।

तर तेस्रो स्थानको माओवादीले उपचुनावबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष कांग्रेसबाट खोस्यो । यहाँ पालिका प्रमुख जिताउन पार्टी महामन्त्री गगन थापा आफैं पुगेका थिए भने गुरुराज घिमिरे निरन्तर लागिपरेका थिए ।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष त सत्ता साझेदार एमालेले नै खोस्यो । एमालेका जंगबहादुर शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मतमा सीमित भए ।

२०७९ को चुनावमा एमालेलाई नै कांग्रेसले हराएका थिए । कांग्रेसबाट लछुमन गुरुङले अध्यक्षमा जित्दा एमालेका हरिप्रसाद उपाध्याय त्यसबेला पराजित भएका थिए ।

०७९ को चुनावमा गठबन्धन गरेको माओवादीले यो उपचुनावमा जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर कांग्रेसबाट खोसेको छ । माओवादी केन्द्रकी देवका लामिछाने ४२७२ मत ल्याएर उपमेयर निर्वाचित हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन् । कांग्रेसले यसअघि जितेको पदाधिकारी गुमाउने क्रम यतिकै सकिँदैन ।

बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्ष पद सत्ता साझेदार एमालेको पोल्टामा पुगेको छ ।

कांग्रेस उम्मेदवार पुल्तीसरा शाहीलाई एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले हराइन् । निर्वाचित बुढाले १७४० मत प्राप्त गर्दा कांग्रेसकी शाहीले १४७४ मत पाइन् । २०७९ मा कांग्रेस उम्मेदवार मैना जोशीले १८१० मत ल्याई निर्वाचित हुँदा हाल एमालेबाट निर्वाचित बुढाले त्यसबेला १६३७ मत प्राप्त गरी पराजित भएकी थिइन् । वडातर्फ कांग्रेसले यसअघि जितेको काठमाडौं–१६, नुवाकोटको ककनी–२, ओखलढुङ्गाको मोलुङ–५ लगायत १६ क्षेत्र गुमाएको छ । यद्यपि पहिले नजितेका ९ वडा जितेर कांग्रेसको जित संख्या १६ पुगेको छ ।

जिल्ला समन्वय सभापति, पालिका पदाधिकारी र वडाध्यक्ष गरी उपचुनाव भएको ४४ पद मध्ये २७ स्थानमा यसअघि कांग्रेसले जितेको थियो । उपचुनावमा जिसस सभापतिसहित १८ पद कांग्रेसले जितेको छ ।

ad

धेरै पढिएका